आज : Tuesday, July 17, 2018 | २०७५ श्रावण १ मंगलबार

मिसायल परीक्षणहरुले अमेरिकालाई गलाउला ? कि किम शाषन नै ढल्ला ?

अन्तराष्ट्रिय डेस्क - |

तस्विरमा किम जोङ उन र डोनाल्ड ट्रम्प, स्रोत सिएनएन

संयुक्त राष्ट्र संघका नाकाबन्दीहरुलाई बेवास्ता गर्दै उत्तर कोरियाले लगातार हतियार परीक्षण गर्ने क्रममा आज बिहान अन्तरमहाद्विपीय मिसायल परीक्षण गरेको छ । प्योङयाङको स्थानीय समय बिहान ७ बजे प्रहार गरिएको सो मिसायल दुई साता अघि (२९ अगस्त) भन्दा शक्तिशाली रहेको समाचार माध्यमहरुले बताएका छन् । 

जापानको उत्तरको होकाइडो टापु नाघेर प्रशान्त महासागरमा खसेको सो मिसाइल ७७० किलोमिटर माथि आकाशमा गएर ३७०० किलोमिटर दुरी पार गर्दै महासागरमा खसेको थियो । उसको पछिल्लो मिसाइलले ५५० किमि माथि गएर २७०० किलोमिटर दुरी पार गरेको थियो । यो मिसाइलमा आणविक वा हाइड्रोजन बम जडान गर्न सकिने उत्तर कोरियाले दावी गर्दैआएको छ र उसको दावीलाई पश्चिमका विज्ञहरुले पनि स्विकारेका छन् । उत्तर कोरियाले आक्रमण गर्ने धम्की दिएको अमेरिका शाषित प्रशान्त महासागरको ग्वाम टापु उत्तर कोरियाबाट ३४०० किलोमिटर मात्र टाढा पर्छ । 

उत्तरको यो पछिल्लो कदमले जापान, दक्षिण कोरिया र अमेरिकी सरकारको सक्रियता बिहानैदेखि फेरी बढाइदिएको छ । उनीहरुले सुरक्षा सम्बन्धी बैठक बोलाएका छन् । राष्ट्र संघीय सुरक्षा पििरषदको बैठक पनि बोलाइने भएको छ । 

के होला ?

राष्ट्र संघको सुरक्षा परिषदले भर्खरै कच्चा तेल, कोइला, सुन, रेडिमेड कपडा निर्यातमा प्रतिवन्ध लगाएर बिदेशी मुद्रा आर्जनको बाटो बन्द गर्दै उत्तरलाई दबाब बढाएको थियो । उत्तर कोरियन नागरिकलाई बिदेशी मुलुकमा काम गर्न जान भिसा नदिने पनि पछिल्लो प्रतिवन्धमा प्रावधान छ । 

यी सबै कडाईले उत्तर झुक्ला भन्ने अमेरिकासहित कसैले अनुमान भने गरेका थिएनन् । अमेरिकाले यो भन्दा अझ कडा अर्थात तेल आयात पूर्ण प्रतिवन्ध लगाउनेगरी प्रस्ताव तयार पारेकोमा चीन र रुसले अमेरिका र दक्षिण कोरियाले संयुक्त सैनिक अभ्यास पनि रोक्नुपर्नेगरी प्रस्ताव सुरक्षा परिषदमा लैजाने समानान्तर प्रस्ताव तयारी गरेपछि सो बीचको बाटो रोजिएको थियो । अब, अमेरिकाले उत्तरमाथि सम्पूर्ण नाकाबन्दी लगाउने प्रस्ताव लैजाने सम्भावना छ । 

तर, त्यस्तो सम्पूर्ण नाकाबन्दीले उत्तरको शाषन समाप्त हुने, त्यसले कोरिया प्रायद्वीपमा अस्थिरता आउने, शरणार्थीको बाढि बेहोर्नुपर्ने तथा आफ्नो सीमामा अमेरिकाको पहुँच बढ्ने मानेर चीन त्यसको बिपक्षमा छ । चीन जस्तै उत्तरसँग सीमा जोडिएको रुस पनि उत्तरको वर्तमान शाषन समाप्त हुँदा अमेरिकी पहुँच बढ्नेमा चिन्तित रहेकाले उत्तरको शाषन समाप्त हुनेगरी नाकाबन्दी लगाउन दिने पक्षमा छैन । 

तर, लगातारको उत्तरको आणविक, हाइड्रोजन बम तथा मिसाइल परीक्षणले शक्ति राष्ट्रहरुले बाहेक त्यसो गर्न नपाउने वर्तमान ‘वल्र्ड अर्डर’ उल्लघंन भएकोले चीन र रुस राष्ट्र संघमार्फत नाकाबन्दी बढाउन वाध्य हुनसक्छन् । 

के चाहन्छ उत्तर ? 

१९५०—५३ मा युद्ध चलेर अमेरिका र उत्तरबीच युद्धबिराममा सम्झौता भएपनि शान्ति सम्झौता नभएकाले दुई देशबीच अझै युद्धको अवस्था रहेको मानिन्छ । त्यही बेलादेखि अमेरिकाबाट अनेकौं प्रकारको नाकाबन्दी बेहोर्दै आएकोमा वर्तमान शाषक किम जुङ उन २०११ मा सत्तामा आएपछि आणविक बम विकासलाई तिब्र बनाएर अमेरिकालाई दबाब दिने नीति लिए । सन् १९८० देखि नै आणविक बम विकास कार्यक्रम उसले चलाएको भएपनि उनका बुबा तथा पूर्व शाषक किम जुङ इलले अन्तराष्ट्रिय दबाब मान्दै अनेकौं पटक त्यो कार्यक्रम स्थगित गरेका थिए । 

तर, स्विजरलैण्डमा स्कुल शिक्षा लिएर पश्चिमलाई धेरै हदसम्म चिनेका तथा देशको गरिबी हटाउन प्रतिवन्ध वाधक रहेको बुझेका उनले आणविक बम र मिसायल शक्ति विकाशलार्ई दबाबको माध्यम बनाउने निश्चय गरे । यसअघिका उसका परीक्षणहरुलाई धम्की तथा खेलाँची मान्दै आएको पश्चिमा शक्ति दुई साताअघिको मिसायल परीक्षण र त्यसपछिको हाइड्रोजन बम परीक्षणपछि झस्किएको छ । अहिले अमेरिकी, जापानी र दक्षिण कोरियन सुरक्षाविज्ञहरु उत्तरसँग प्रशान्त महासागरीय टापु ग्वाम मात्र नभएर अमेरिकाको मुख्य भूमिमै आक्रमण गर्ने तागत रहेको स्विकार्न थालेका छन् । 

यस्तोमा, उत्तरको अहिलेको चाहना भनेको आफूलाई आणविक शक्ति राष्ट्र स्विकार्न लगाएर अमेरिकासँग शान्ति सम्झौता गर्नु हो । त्यसो गराउन सक्दा अहिले उसले बेहोरेका सबै प्रतिवन्ध समाप्त हुने उसको बुझाई छ, जुन स्वभाविक हो । अहिलेको तथा योभन्दा कडा हुने प्रतिवन्ध लम्बिदा थेग्न गाह्रो हुने बुझेका उनले दक्षिण कोरिया, जापान र अमेरिकालाई आक्रमण गरिहाल्ने भन्दा पनि अरु परीक्षणहरु गर्दै बिपक्षीलाई दबाब बढाउने नीति लिने देखिन्छ । यस्तो खतरा नमोल्दा प्रतिवन्धहरुको दबाबले हजुरबुबा किम इल सुङले स्थापना गरेको शाषन ढल्ने उनको बुझाई देखिन्छ ।  

१९५०—५३ मा चलेको लडाईमा उत्तरतर्फबाट चीन प्रत्यक्ष भिडेको तथा रुसले पनि हतियार दिएर सघाएकाले उनीहरु उत्तरमा अमेरिकी समर्थित शाषन आएको हेर्न चाहदैनन् भन्ने स्पष्ट देखिएको छ । इराक, लिबिया र अन्य ठाउँमा जस्तो अमेरिकी सैन्य हस्तक्षेप अहिलेसम्म नहुनुको कारण पनि यही मानिन्छ । अब त, आफ्नो भूमिमै मिसायलमार्फत आणविक आक्रमण गर्नसक्ने क्षमता विकास गरिसकेकाले अमेरिकालाई उत्तरमा आक्रमण गर्न सजिलो छैन ।   

यस्तोमा, अमेरिकाको आगामी कदम के हुनेछ, चीन र रुसले के गर्नेछन्, जापान र दक्षिण कोरियाको भूमिका कस्तो हुनेछ, उत्तरले प्रतिवन्धको दबाब कतिसम्म थेग्नसक्नेछ तथा युद्धबिरोधी विश्व जनमतको दबाब कस्तो हुनेछ जस्ता विषयले यो बिबाद कुन दिशामा जानेछ भन्ने निर्धारण हुनेछ ।     

प्रतिकृया दिनुहोस