आज : Thursday, April 26, 2018 | २०७५ बैशाख १३ बिहीबार

फोरम र राजपा मिल्न गाह्रो : दुई नम्बर प्रदेशको अबको चुनावी गणित

आठैप्रहर संवाददाता - |

काठमाडौं । दुई नम्बर प्रदेशमा आगामी प्रादेशिक चुनावमा कुनै पनि पार्टीले बहुमत नल्याउने संकेत स्थानीय चुनाव परिणामले दिएको छ । यो प्रदेशमा कांग्रेस, एमाले, माओवादी, राजपा र फोरमको प्रभाव देखिएको छ । 

यो प्रदेशमा मेयर र प्रमुख पदमा विजयी संख्याका दृष्टिले कांग्रेस अगाडि देखिएको छ तर वडा अध्यक्ष तथा सदस्यमा विजयी संख्या हेर्दा एमाले नै दोस्रोमा आउने देखिएको छ । 

प्रदेशमा पाँच पार्टीको प्रतिस्पर्धा देखिएपछि आउँदो प्रादेशिक चुनावमा दलहरुबीच चुनावी तालमेलको चर्चा सुरु भएको छ । यो प्रदेशमा मधेसवादी दलहरु एक भएर चुनाव लड्ने कुरा पनि छ तर स्थानीय चुनाव परिणामले यो सम्भावनालाई न्यून बनाइदिएको छ ।

राजपा र फोरमलाई मिल्न गाह्रो

राजपा र संघीय फोरम नै मधेस आधारित मुख्य दुई शक्ति देखिए । दुई नम्बर प्रदेशमा फोरम लोकतान्त्रिकको झिनो उपस्थिति मात्र देखियो । जहाँ राजपा बलियो देखियो, त्यहाँ फोरम निकै कमजोर देखियो । जहाँ फोरम बलियो देखियो त्यहाँ राजपा कमजोर देखियो । जस्तो कि जनकपुर उपमहानगर । यहाँ राजपा भन्दा फोरम निकै कमजोर देखियो । त्यसैगरी लाहान र कलैया जस्ता ठूला सहरमा फोरम फोरम बलियो देखियो तर राजपाको उपस्थिति निकै कमजोर देखियो । त्यसैले यी दुईको भावी तालमेलले खासै अर्थ राख्ने देखिएन । तर, बीरगञ्जमा भने फोरम र राजपाको कडा प्रतिस्पर्धा देखियो । 

भावी प्रदेश चुनावमा यी दुई पार्टी मिल्दा कसलाई कति फाइदा हुन्छ भन्ने आकलन हुन बाँकी नै छ, अन्तिम परिणाम आइसकेपछि मात्र दुई नम्बरमा को कता मिल्दा कसलाई फाइदा हुन्छ भन्ने आकलन हुनसक्छ । तर, दुवै पार्टीको आआफ्नो प्रभाव क्षेत्रमा कांग्रेस, एमाले र माओवादी बलियो देखिए । त्यसैले फोरम र राजपाले आपसमा तालमेल गर्दा भन्दा अरु पार्टीसँग तालमेल गर्दा फाइदा हुने देखियो । 

हुनत फोरम र राजपा एकीकरणको प्रयाश नभएको पनि होइन । ६ पार्टी मिलेर राजपा बन्दा फोरम त्यसमा मिसिन मानेन । एकीकरणको विरुद्धमा उभिनुको औचित्य फोरमले सावित गरेको छ स्थानीय चुनावबाट । किनभने स्थानीय चुनावमा राजपाभन्दा फोरम नै बलियो देखियो । राजपा विभिन्न पार्टीको गठजोडबाट बनेको हो जहाँ नेता भरमार छन् । यसको तुलनामा फोरममा उपेन्द्र यादवको एकलौटी छ । त्यसैले पनि भावी दिनमा यी दुई पार्टीबीच एकीकरणको सम्भावना न्यून देखिन्छ । 

फोरम लोकतान्त्रिक कता ?

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले स्थानीय चुनावमा प्रभावशाली उपस्थिति देखाउन सकेन । मधेस आन्दोलनबाट जन्मिएको फोरमलाई फुटाएर गच्छदारले फोरम लोकतान्त्रिक बनाएका थिए । यो पार्टीलाई अबको चुनावमा तीन प्रतिशत थ्रेसहोल्ड कटाउन मुस्किल पर्ने देखिएको छ । यसको अर्थ हो, यो पार्टीले अरुसँग एकता गर्नैपर्ने दवाब बढेको छ ।

जानकारहरु भन्छन्, गच्छदारको रुची कांग्रेसमा जाने छ । कांग्रेसका केही नेताहरुले पनि गच्छदारको पार्टीलाई ल्याउन रुची देखाइरहेका छन् । गच्छदार उपेन्द्रको पार्टीमा मिसिने सम्भावना न्यून मात्र रहेको छ । त्यसैगरी गच्छदार राजपामा मिसिन पनि इच्छुक छैनन् । अन्तत उनी कांग्रेसमै मिसिन सक्ने बताइन्छ ।

कडा टक्कर

आउँदो प्रादेशिक चुनावमा राजपा र फोरमले दुई धारमा उभिएर चुनावी तालमेल गर्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । खासगरी एमालेसँग तालमेल गर्ने इच्छा फोरमका नेताहरुले देखाएको बुझिन्छ । कांग्रेस र राजपा धेरै कारणले निकट देखिन्छन् तर कांग्रेसका शक्तिशाली नेता विमलेन्द्र निधी राजपासँग मिल्ने पक्षमा नभएको बुझिन्छ । किनभने निधीको गृहजिल्लामा राजपा बलियो छ । बलियो राजपालाई पछार्न बरु माओवादी र फोरमसँग मिल्ने पक्षमा निधी लाग्ने बुझिन्छ ।

दुई नम्बर प्रदेशमा राजपाभन्दा फोरम ठूलो त देखियो तर धेरै अगाडि भने देखिएन । आउँदो प्रादेशिक चुनावमा आपसमा मिल्ने होइन कि एकले अर्काेलाई उछिन्ने बाटोमै यी दुई पार्टी लाग्ने संकेत मिलेको छ । अर्काेलाई उछिन्न यी दुई पार्टीले कांग्रेस, एमाले र माओवादीसँग तालमेलको प्रयाश गर्नसक्ने देखिएको छ । तर, कांग्रेस र एमालेले तालमेल गर्न सजिलो छैन । किनभने यी दुई पार्टीभित्र कसैसँग तालमेल नगर्ने मत बलियो छ । बरु, यी दुई पार्टीले माओवादी केन्द्रसँग तालमेल गर्न सक्छन्, माओवादी पनि यसका लागि इच्छुक देखिन्छ ।

प्रतिकृया दिनुहोस