आज : Thursday, April 26, 2018 | २०७५ बैशाख १३ बिहीबार

यस्तो छ, चिनियाँ नेतृत्वको नयाँ पुस्ता

अन्तराष्ट्रिय डेस्क - |

आजदेखि सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नीति र नेतृत्व चयन गर्नेछ । आगामी पाँच वर्ष पनि चिनियाँ कम्युनिष्ट पार्टीका वर्तमान महासचिव सि जिनपिङले नै पार्टी र मुलुकको नेतृत्व गर्ने निश्चित छ । देङ सियाओ पिङले निर्माण गरेको परम्परा अनुसार जियाङ जेमिन र हु जिन्ताओले जसरी नै सिले अर्काे एक कार्यकाल मात्र पार्टी र मुलुकको नेतृत्व गर्नेछन् वा तेश्रो कार्यकाल पनि सम्हाल्नेछन् भन्ने मात्र अहिलेको चासो छ । सिलाई अहिले चीनमा माओ र देङ बराबरकै असाधारण नेताका रुपमा हेर्न थालिएकाले यस्तो चर्चा चलेको हो । 

चीनको सत्ता कम्युनिष्ट पार्टीको सात सदस्यीय स्थायी समितिले संचालन गर्छ । यो महाधिवेशनले त्यसमा महासचिव तथा राष्ट्रपति सि र प्रधानमन्त्री लि कछ्याङलाई निरन्तरता दिदै बाँकि पाँचमा नयाँ नेताहरुलाई ल्याउने मानिएको छ । सिको कार्यकाल आगामी पाँच वर्ष मात्र रहे चीनको आगामी नेतृत्व तिनै नयाँ पाँच मध्येले नै गर्ने भएकाले स्थायी समितिमा आउने नयाँ नेताहरु को हुनेछन् भन्ने अहिले चर्चा चल्न थालेको छ । यस्तोमा संचारमाध्यमहरुले गरेको अनुमान यहाँ दिइएको छ । 

चे मिनर, ५६ । यिनी अहिले चोङकिङ महानगरपालिकाको पार्टी प्रमुख छन् । सुन जेनकाई भ«ष्टचारको मुद्धामा कारवाहीमा परेपछि उनी त्यहाँका प्रमुख बनेका हुन् । राष्ट्रपति सिसँग उनको नजिक सम्बन्ध रहेको मानिएको छ । 

हु चुन्हुवा, ५४ । यिनी अहिले ग्वाङडोङ प्रान्तको पार्टी प्रमुख छन् । यसअघि उनी तिब्बत, हुबेई र भित्रि मंगोलियाको पार्टी प्रमुख थिए । उनलाई पूर्व राष्ट्रपति हु जिन्ताओको नजिक मानिन्छ । 

लि जान्सू, ६७ । यिनी पार्टीको केन्द्रीय कार्यलयको महानिर्देशक छन् । राष्ट्रपति सिसँग बिदेश भ्रमणमा जाने थोरै नेतामा यिनी पर्छन् र यिनलाई सिको नजिक मानिन्छ । 

वाङ हुनिङ, ६१ । यिनी पार्टीको केन्द्रीय नीति अनुसन्धान कार्यालयका निर्देशक हुन् र यिनलाई पनि राष्ट्रपतिको सिको नजिक मानिन्छ । 

वाङ याङ । यिनी अहिले उप प्रधानमन्त्री छन् र स्थायी समितिभन्दा तल्लो निकाय पोलिटब्यूरोको दुई पल्ट सदस्य रहिसकेका छन् । यिनलाई राष्ट्रपति सिले ल्याएको बेल्ट एन्ड रोड इनियसिटिभको डिजाइनरमध्ये एक मानिन्छ । 

यी बाहेक स्थायी समितिका लागि अरु पनि सम्भावित उमेद्वारहरु रहेको बताइन्छ । स्थायी समिति चयन गरेपछि आगामी साता चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन समाप्त हुनेछ ।    

प्रतिकृया दिनुहोस