आज : Tuesday, December 11, 2018 | २०७५ मङ्सिर २५ मंगलबार

डा. केसीलाई अदालतले कैद सजाए सुनाउला ?

आठैप्रहर संवाददाता - |

सोमबार दिउँसो ४ बजेदेखि अनसन बसेका डाक्टर गोबिन्द केसीलाई सर्वाेच्च अदालतको आदेश अनुसार प्रहरीले राति ८ बजे पक्राउ गरेर मंगलबार बिहान पौने ९ बजे सर्वोच्च परिसर पुरयाएको थियो ।

केसीलाई अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाटै प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर महानगरीय प्रहरी प्रभाग सिंहदरबार लगिएको थियो । र, आज बिहान पौने ९ बजे सर्वाेच्च परिशर पुरयाइयो ।

सवा ११ बजेसम्म पनि इजलास सुरु नभएपछि केसीले स्वास्थ्यमा अप्ठेरो भएको बताएकाले प्रहरीले आफ्नै एम्बुलेन्समा उनलाई आराम गर्न दिएको छ ।

उनको मुद्दा ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा परेको छ । 

केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गर्ने बताइएको छ । 

भण्डारी अदालतमा हुने भ्रष्टाचार र अदालतको शुद्धीकरणबारे निरन्तर आवाज उठाउनेमा पर्छन् ।

भण्डारीसँगै केसीका पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी,  सुरेन्द्र भण्डारीलगायत वकिलले बहस गर्नेछन्।

केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने भएका छन्।

केसीले अदालतको अवहेलना गरेको भन्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतले चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमको डिनमा डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएपछि डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र पराजुलीले गरेका फैसलाको छानविनको माग गर्दै अनसन सुरु गरेको थिए । 

डा. केसीले प्रधानन्याधीशमा पराजुली नियुक्त भए यताका केही फैसलाको विवरण सार्वजनिक गर्दै त्यसको छानविन गर्न माग गरेका छन् ।

 न्याय प्रशासन ऐन, २०७३ मा अदालतको अपहेलना सम्बन्धी मुद्दामा के गर्ने भन्ने विषयमा व्यवस्था गरिएको  दफा १७ मा ऐन अनुसार अदालतको अपहेलना मुद्दामा दोषी ठहर हुने व्यक्तिलाई एक वर्ष जेल सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै अरु उपयुक्त कारवाही गर्न सक्ने व्यवस्था पनि ऐनमा छ । 

तर दोषीले अदालतलाई चित्त बुझ्ने गरी माफी मागेमा कारवाही मुद्दा तामेलीमा राख्न सकिने वा कारवाही रोक्न सकिने ऐनमा व्यवस्था छ । 

प्रतिकृया दिनुहोस