आज : Sunday, September 23, 2018 | २०७५ असोज ७ आइतबार

लालबाबु वातावरणमा पनि ‘लाल’ नै बन्लान् ?

आठैप्रहर संवाददाता - |

जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डितले काठमाण्डौ उपत्यकालाई एक बर्षभित्र मास्कमुक्त गराउने आफ्नो योजनामा अवरोध गर्नेलाई कारबाही गर्ने बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ अकोरावले प्रकाशन गरेको सीआईएन मार्फत प्रसारण कार्यक्रमको प्रभाव समेटिएको सामुदायिक मेलमिलाप पुस्तक तथा डकुमेन्ट्रीको विमोचन गर्दै मन्त्री पण्डितले काठमाण्डौ उपत्यका सहित अन्य शहरलाई पनि प्रदूषणमुक्त बनाउने योजना सहित अगाडी बढेको बताए  । 

पूर्व सरकारमा सामान्य प्रशासन मन्त्री रहेको बेला विदेशी नागरिकता र अस्थायी वासिन्दा लिने कर्मचारीलाई सेवाबाट हटाउने निर्णयमा अडिग रहेर चर्चामा आएका मन्त्री पण्डितलाई उपत्यकासहित मुलुकको वातावरण सुधार्ने जिम्मा छ र आफ्नो छवि अनुसार उनले मुलुकको वातावरण अवस्थालाई सुधार्ने अपेक्षा धेरैले गरेका छन् । अहिलेसम्म कम महत्वपूर्ण मानिएको वातावरण मन्त्रालयको जिम्मा पाएका पण्डितले छवि अनुसार काम गरे तथा मुलुकको वातावरण अवस्था सुधार गरे मानिसको क्षमताले मन्त्रालयको महत्व परिवर्तन हुने प्रमाणित गर्नेछ । 

देश र जनताको हितका पक्षमा काम गर्ने भएकाले गलत गर्ने जो कोहीलाई पनि दण्डित गर्नबाट पछि नहट्ने पण्डितले बताए । मन्त्री पण्डितले सञ्चारमाध्यमको विश्वसनियता कायम गर्न पत्रकारहरुले अलि बढि मिहिनेत गर्नु पर्ने उल्लेख गरे । अधिकांश सञ्चारमाध्यमले गतल र भ्रामक समाचार सम्प्रेषण गरिरहेका बेला सामुदायिक रेडियोले भने सञ्चारमाध्यमको विश्वसनियता कायमै राखेको उनको भनाई थियो । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले अझै पनि केही स्थानीय तहमा न्यायिक समिति गठन हुन नसकेकोमा दुःख व्यक्त गर्दै यसले महिलाको नेतृत्वलाई असफल गराउनेमा चिन्ता व्यक्त गरिन् । मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४७ स्थानीय तहमा उपप्रमुख महिला हुनु सुखद भएपनि अझै पनि न्यायिक समिति गठन भएर काम अगाडी नबढ्नु दुःखद भएको भन्दै उपप्रमुखहरुको क्षमता बिकास गर्नु पर्ने बताइन् । 

कार्यक्रममा अकोरावका कार्यकारी निर्देशक डा. रामचन्द्र लामिछानेले द एसिया फाउण्डेसन र अकोरावको सहयोगमा सञ्चालित सामुदायिक मेलमिलाप कार्यक्रमले स्थानीय स्तरमा ८४ प्रतिशत विवाद मिलाउन सफल भएको दावी गरे । यस्तै द एसिया फाउण्डेसनका बरिष्ठ कार्यक्रम अधिकृत प्रिती थापाले वहु सरोकार रहेका विवादहरुको समाधान सामुदायिक मेलमिलापले कार्यक्रमले गरेको बताए । 

उहाँले अहिले देशभरमा १५ हजार मेलमिलापकर्ता रहेको पनि जानकारी गराउनुभयो । मेलमिलापमा सहयोग पु-याउने उद्देश्यले सामुदायिक सुचना नेटवर्क सीआईएनको संयोजनमा १४ जिल्लाका सामुदायिक रेडियो मार्फत १ सय ५४ ओटा मेलमिलाप सम्बन्धी रेडियो कार्यक्रम प्रसारण भएको थियो । 

प्रतिकृया दिनुहोस