आज : Sunday, September 23, 2018 | २०७५ असोज ७ आइतबार

विपद व्यस्थापनको सहयोगी सामुदायिक रेडियो संघ १७ औं वर्षमा

आठैप्रहर संवाददाता - |

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक रेडियोका मुद्दालाई प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १७ औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आज भएको विशेष समारोहमा मन्त्री बास्कोटाले यस्तो बताएका हुन् । अकोराब स्थापना दिवसको अवसरमा आयोजित ‘सामुदायिक रेडियोको नीति एवम् स्थानीय तहसँगको साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री बास्कोटाले छलफलबाट निस्किएको निष्कर्षको बारेमा आफूलाई जानकारी गराउन आग्रह गरे । आम नागरिकको चेतना अभिवृद्धि गर्न सामुदायिक रेडियोले महत्वपुर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै मन्त्री बास्कोटाले स्थानीय तहले सामुदायिक रेडियोसँग मिलेर आफ्ना जनतालाई सूचना आदानप्रदान गर्न सक्ने धारणा राखे । उनले सामुदायिक रेडियोलाई लोक कल्याणकारी बिज्ञापन सरल ढङ्बाट उपलब्ध गराउन आफू लागिपर्ने पनि वचन दिए । एक फरक प्रसङ्गमा मन्त्री बास्कोटाले यूरोपियन यूनियनले नयाँ संविधानप्रति जारी गरेको असन्तुष्टिप्रति आपत्ति जनाए ।  

कार्यक्रममा काठमाण्डौ महानगरपालिका प्रमुख बिद्या सुन्दर शाक्यले सामुदायिक रेडियो प्रसारक संघ अकोराबसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको जानकारी दिए । काठमाण्डौ महानगरले समेत रेडियो सञ्चालन गरिरहेको जानकारी दिँदै उनले अकोराबसँग थप सहकार्य गरेर अगाडि बढ्ने धारणा राखे । समाचार सामग्री सम्प्रेषण गर्दा सकारात्मक कुरामा पनि जोड दिन आग्रह गर्दै शाक्यले नागरिकको आनीबानीमा परिवर्तन ल्याउन पनि सामुदायिक रेडियो प्रभावकारी माध्यम बन्न सक्ने विचार राखे । 
वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्थानीय तहको ऐनकानुन बनाउँदा सामुदायिक रेडियोको सुझाव आवश्यक रहनेमा जोड दिए । जनशक्तिको सदुपयोग हुने गरी सामुदायिक रेडियोबाट कार्यक्रमहरु प्रसारण हुनुपर्नेमा पनि उनको जोड थियो । समुदायमा रहेका महिला जनशक्तिको सदुपयोग गर्न सके स्थानीय तह पनि सफल हुने उनले बताए । स्थानीय तहमा सञ्चालन भइरहेका सामुदायिक रेडियोसँग सहकार्य गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले सामुदायिक रेडियोलाई प्रभावकारी बनाउन वीरगञ्ज महानगपालिका  सधैँ तयार रहेको वचन दिए । 

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सामुदायिक रेडियो प्रसारक संघको स्थापनाका लागि बुटवलमा भएको छलफलको सम्झना गर्दै आज १७ वर्ष पार गरेकोमा अकोराबमा आवद्ध सबै सदस्यलाई बधाई तथा शुभकामना दिए । सामुदायिक रेडियोसँग सहकार्य गर्न आफू तयार रहेको भन्दै पाण्डेले के कस्तो प्रकारको सहकार्य गर्ने भन्ने बारेमा अकोराबसँग छलफल र सहकार्य गर्ने प्रतिबद्धता जनाए । सामुदायिक रेडियोको दिगोपना सबैभन्दा महत्वपूर्ण भएकोमा जोड दिदै स्थानीय स्तरमा सञ्चालन भएका सामुदायिक रेडियोको लागि कोषको स्थापना गर्नुपर्ने सुझाव दिए । 

प्रतिनिधिसभाका सदस्य तथा गाउँपालिका महासंघ महाधिवेशन आयोजक समितिका संयोजक घनश्याम खतिवडाले सूचना प्रवाहमा रेडियो प्रभावकारी बन्दै गएको बताए । स्थानीय तह र समुदायको अधिकारको विषयमा धेरै विषय सामुदायिक रेडियाले स्थानीयको घरघरमा पुर्याउन सफल भएको बताए । स्थानीय तहले एफएम रेडियो सञ्चालन गर्ने विषयमा सामुदायिक रेडियो प्रसारक संघले आयोजना गरेको छलफल कार्यक्रम प्रभावकारी रहेको टिप्पणी गरे । स्थानीय स्तरमा सञ्चालनमा रहेका सामुदायिक रेडियोलाई थप प्रभावकारी बनाउन स्थानीय तहको भूमिका महत्वपुर्ण रहने उनको भनाई छ । सामुदायिक रेडियो सञ्चालन नभएका स्थानीय तहले जनतालई सूचित गर्नको लागि एफएम रेडियो सञ्चालन गर्न सक्नेमा उनको जोेड थियो । 

धुलीखेल नगरपालिकाका प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्यान्जुले सामुदायिक रेडियोसँग मिलेर बढ्न स्थानीय तहहरु तयार रहेको जानकारी दिदै स्थानीय सरकारले रेडियो सञ्चालन गर्दा कुनै समस्या नहुने धारणा राखे । स्थानीय तहले एफएम रेडियो सञ्चालन गर्नुपर्छ भन्नेमा आफ्नो मत नरहेको बताउँदै उनले सञ्चालन गर्दा समस्या भने नहुने उल्लेख गरे । स्थानीय तहले सञ्चालन गरेका रेडियोको कार्यविधि तयार पार्दा विशेष ध्यान दिन जरुरी रहेको व्यन्जुले बताए । सहकार्य, साझेदारी र सहअस्थीत्वको आधारमा सञ्चार नीति निर्माणमा पनि उनले जोड दिए । सञ्चार नीति बनाउँदा स्थानीय तह, प्रदेश सरकार र केन्द्रको सरकारकबीच आपसमा सहकार्य गर्ने उनको भनाई थियो ।

प्रतिनिधिसभाका सदस्य यज्ञराज सुनुवारले सामुदायकि रेडियोहरुले अति महत्वपूर्ण सूचना प्रवाह गरिरहेको बताए । स्थानीय, प्रदेश र केन्द्रीय सरकार सामुदायिक रेडियो प्रति सकरात्मक हुनुपर्नेमा पनि उनको जोड थियो । सञ्चार नीति निर्माण गर्दा विशेष ध्यान दिन पनि स्थानीय, प्रदेश र केन्द्रको सरकारसँग सुनुवारले आग्रह गरे । 
सांसद् प्रदिप यादवले स्थानीय तहले रेडियो सञ्चालन गर्दा सामुदायिक रेडियोको अस्तित्व  संकटमा पर्ने चेतावनी दिए । आधारभूत स्वास्थ्य सेवादेखि लिएर निकै महत्वपूर्ण सूचना स्थानीय स्तरमा अहिले सञ्चालन भइरहेका सामुदायिक रेडियोले प्रसारण गरिरहेकोमा यादवले धन्यवाद दिए । सामुदायिक रेडियोलाई थप बलियो बनाउन बनाउन चाहिने  सबै कदमलाई आफूले साथ दिने उनको प्रतिवद्धता थियो । आफ्नो १७ औँ वार्षिकोत्सवको  अवसरमा अकोराबले सामुदायिक रेडियोको नीति एंव स्थानीय तहसँगको साझेदारी विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । 

 सामुदायिक रेडियो प्रसारक संघ (अकोरब) नेपालले आयोजना गरेको सामुदायिक रेडियोको नीति र स्थानीय तहसँगको साझेदारी विषयक अन्तरक्रियामा बोल्दै विपद्विज्ञ डा. गंगालाल तुलाधरले साुमदायिक रेडियोले विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । विपद्पछि उत्पन्न हुने प्रकोपसँग लड्न सामुदायिक रेडियोबाट प्रसारण हुने सूचनाले प्रभावकारी काम गरेको उनको भनाइ छ । विपद्को जोखिममा नेपाल संसारमा चौथो स्थानमा रहेको बताउँदै उनले प्राकृतिक विपद् चाहेर पनि रोक्न नसकिने तर विपद्पछिको क्षतिमा भने न्यूनिकरण गर्न भने सकिनेमा जोड दिए । वर्षमा १ हजार जना नेपालीको विपद्का कारण मृत्यु हुने गरेको जानकारी गराउँदै विपद्को पूर्व तयारीमा पनि सामुदायिक रेडियोको भूमिका कम नहुने बताए । स्थानीय परिस्थितिलाई ध्यान दिँदै सामुदायिक रेडियोले विपद्बाट जोगिने सन्देश प्रसारणमा ध्यान दिनुपर्नेमा उनको जोड थियो । 
प्रशासनविद् काशीराज दाहालले जनताको जीवनस्तर उकास्न सामुदायिक रेडियो प्रभावकारी माध्यम भएको बताए । सबै पक्षसँग मिलेर सञ्चार नीति बनेको जानकारी दिदै उनले सम्बन्धित क्षेत्रका विज्ञहरुसँगको छलफलबाट थप निचोडमा पुर्याउन र परिमार्जन गर्न आवश्यक रहेको धारणा राखे 

प्रतिकृया दिनुहोस